रेखाको विषयमा राप्रपा महामन्त्रीको तर्क

 

अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापा पहिलो सन्तानलाई जन्म दिन अमेरिका गएपछि यतिबेला यो चर्चा र बहसको विषय बनिरहेको छ । सामाजिक सञ्जाल त दुई कित्तामा बाँडिएको छ । समर्थन र विरोध दुवै भैरहेको छ । यसपटक संघीय निर्वाचनमा उम्मेदवार समेत बनिसकेकाले रेखा बच्चा जन्माउनका लागि अमेरिका उड्दा राप्रपामाथि समेत प्रश्न उठेको छ ।

तर, जोसँग रेखा राप्रपाको अधिवेशनमा महामन्त्री पदमा पराजित भएकी थिइन्, यतिबेला उनै अर्थात् कुन्ती शाही रेखाको बचाउमा उत्रिएकी छन् । हालै एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले व्यक्तिगत कुरालाई राजनीतिकरण गर्नु नहुने बताएकी छन् । आमा बन्न लागेकी एक महिलालाई राजनीतिक रुपमा घसेटिरहँदा मानसिक रुपमा पर्ने असरबारे बुझ्न जरुरी रहेको शाहीको भनाई छ ।

उनले भनेकी छन्, ‘व्यक्तिगत कुरालाई राजनीतिकरण गर्नु हुँदैन । बच्चा जन्माउनका लागि अमेरिका गएको हो या के परिस्थितिले गएको हो भन्ने कुरा त उहाँलाई सोधेपछि नै थाहा हुन्छ । आमा बन्न लागेकी महिलालाई राजनीतिक रुपमा घसेटिरहँदा मानसिक रुपमा कस्तो असर पर्छ भन्ने कुरा हाम्रो समाजले बुझ्दैन । यसले हाम्रो नकारात्मक सोचाई कहाँसम्म पुगेको छ भन्ने उजागर गर्छ ।’

महामन्त्री शाहीले महिला भएकै कारण विरोध गर्नुपर्ने हो भन्दै प्रश्न समेत गरेकी छन् । ‘यहाँ महिला अधिकारको कुरा पनि आउला नि ! के महिला भएकै कारणले विरोध गर्नुपर्ने हो ? यो कुरामा राष्ट्रियता लगेर जोड्नु हुँदैन,’ उनले भनेकी छन् । रेखा गएको मंसिर अन्तिम साता श्रीमानसँग अमेरिका गएकी हुन् । उनलाई चिकित्सकले आगामी माघको ‘डेलिभरी डेट’ दिएको जानकारी प्राप्त छ ।

Previous Post Next Post